SWC Regd. No : 19843

लागु अाैषध नियन्त्रणका लागि हेल्प डेस्कको स्थापना

1

लागूऔषधबिरुद्ध जानकारी एवं परामर्श दिने उद्देश्यले सप्तरीको सिमावर्ती तिलाठी कोइलाडीमा बुधबारदेखि हेल्प डेस्क राखिएको छ ।

तिलाठी कोइलाडी १ तिलाठीस्थित कुनौली सीमामा हेल्प डेस्क स्थापना गरिएको हो ।

लागूऔषधबिरुद्धको दिवसको अवसर पारेर सप्तरीमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिदैंछ । सप्ताहव्यापी अभियानको हेल्प डेस्क राखेर उद्घाटन गरिएको छ ।

सप्तरी युथ नेपाल र सवल नेपालले संयुक्त रुपमा राखेको हेल्प डेस्कको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले रिबन काटेर उद्घाटन गरे । उद्घाटन गर्दै उनले भारतसँगको खुल्ला सिमाका कारण सप्तरीमा लागूऔषध प्रयोगकर्ताहरु बढिरहेको बताउँदै यसको नियन्त्रणका लागि हेल्प डेस्कले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले सप्तरीमा लागूऔषध प्रयोगकर्ताहरुलाई निरुत्साहित पार्न दैनिक प्रयास भइरहेको बताए । जिल्लामा लागूऔषध प्रयाोग गर्नेको संख्या भयावह रहेको बताउँदै उनले भारतसँगको ७८ किलोमिटर खुल्ला सिमानाका कारण त्यसलाई नियन्त्रण गर्न समस्या भइरहेको बताए ।

चेकजाँचका क्रममा लागूऔषध प्रयोगकर्ता फेला परिरहेको बताउँदै तिलाठी नाकाबाटै एक हप्तामा तीन जना ओसारपसरा गर्ने व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए ।

तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले निकट भविष्यमै लागूऔषधबिरुद्ध बजेट विनियोजन गर्दै कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।

अभियानको उद्घाटन कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका रघुनन्दन यादवले लागूऔषधबाट हुने वेफाइदाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ, सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, सीमामा भारतीयसँग लडेका देबनारायण यादव, सवल नेपालका अशोक साहसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे सप्तरी युथ नेपालका अध्यक्ष श्रवणकुमार देवले जानकारी गराएका थिए भने संचालन सचिव आयुष श्रेष्ठले गरेका थिए ।

आगामी जुन २६ तारिखका दिन लागूऔषधबिरुद्धको दिवस मनाइँदैछ । सप्तरीमा एक हप्ते बिभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी दिवसका दिन भव्य कार्यक्रमको आयोजना गरी समापन गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

2 3 4 5 6 7 8