हाम्राे चाहना,सम्वृद् समाजकाे स्थापना
Our Desire Prosperous Society

SWC Regd. No : 19843

सप्तरीको महेशपुर बाल विवाहमुक्त टोल घोषित

Child Marriage Decleration Free Foto
सप्तरीको सुरुङ्गा नगरपालिका वार्ड नं. ११ स्थित महेशपुर गाउँलाई बाल विवाहमुक्त टोल घोषणा गरिएको छ ।
शुक्रवार सो टोलमा आयोजित एक कार्यक्रम बीच सुरुङ्गा नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ चौधरीले महेशपुर गाउँलाई बाल विवाहमुक्त टोल घोषणा गर्नुभएको हो ।
सरकारद्वारा निर्धारित बाल विवाहमुक्त टोल घोषणा गरिने सूचकहरुको आधारमा महेशपुर गाउँलाई बाल विवाहमुक्त टोल घोषणा गरिएको सबल नेपालका सामुदायिक परिचालक राधा चौधरीले जानकारी दिनुभयो । १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरुको विवाह नभएको, वडा कार्यालयमा १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरुको विवाह दर्ता भएको अभिलेख नरहेको, १८ वर्षभन्दा कम उमेरका सम्पूर्ण बालबालिकाहरुको जन्म दर्ता भएको, गाउँ बाल अधिकार संरक्षण तथा सम्वद्र्धन समिति संगै सार्वजनिक निकायहरु बाल विवाह रोक्न सक्रिय भएको, लमी तथा पुरोहितहरुले बाल विवाह नगराउने गरेको, समुदायका व्यक्तिहरु बाल विवाहको भोजमा सहभागी नहुने गरेको लगायतका सूचकहरु पूरा भएकोले महेशपुर गाउँलाई बाल विवाहमुक्त टोल घोषणा गरिएको सामुदायिक परिचालक चौधरीले बताउनुभयो ।
पूर्व दिशामा खडक नगरपालिकाको पंसेरा, उत्तरमा कंचिरा, दक्षिणमा दुहबी र पश्चिममा सुरुङ्गा नगरपालिकाको धाँतीबजारको बीचमा रहेको महेशपुर गाउँलाई सेभ द चिल्ड्रेनको साझेदारीमा सबल नेपालद्वारा संचालित स्पोन्सरशिप परियोजनाको किशोरकिशोरी विकास कार्यक्रम अन्तर्गत बाल विवाहमुक्त टोल घोषणा गरिएको हो । २०७३ देखि २०७४ मंसीर ६ गतेसम्म महेशपुर गाउँमा १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरुको विवाह नभएको एवम् सम्पूर्ण बालबालिकाहरुको जन्मदर्ता गरिएको वडा कार्यालयद्वारा जारी अभिलेख तथा लमी, पुरोहित एवम् समुदायद्वारा बाल विवाह नगर्ने र बाल विवाहको भोजमा सहभागी नहुने प्रतिवद्धता गरिएको प्रतिवेदन कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
गाउँ बाल अधिकार संरक्षण तथा सम्वद्र्धन समिति सुरुङ्गा नगरपालिका वडा नं. ११ द्वारा आयोजित घोषणा कार्यक्रममा बाल विवाहमुक्त टोल घोषणा गर्नका लागि योगदान दिने विभिन्न व्यक्तिहरु एवम् विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालय, प्रहरी चौकी, बाल क्लव लगायतका संस्थालाई नगर प्रमुख मुक्तिनाथ चौधरी र उपप्रमुख विन्दादेवी पासमानद्वारा दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।